Pratibha Community Library

यस पुस्तकालयको विधान

 श्री प्रतिभा सामुदायिक पुस्तकालय , गोदावरी न.पा. १ अत्तरिया,कैलालीको विधान २०५७ (दोस्रो संसोधन सहित)                    

प्रस्तावना :

नेपाली वाङ्मयको विविध फाँटमा योगदान पुर्याउने तथा यस क्षेत्रमा चासो नव प्रतिभाहरुको बौद्धिक विकास गर्ने उद्देश्यले र दिन प्रतिदिन नेपाली समाजमा बाह्य प्रभावका कारण देखा पर्न थालेको विश्रृङ्खलतालाई निरुत्साहित गर्दै कलाका शाखा प्रशाखाको समेत उत्थान र विकास गर्ने उद्देश्यलाई मूर्त रुप दिन एउटा सबै वर्गलाई समेटन् सक्ने सार्वजनिक पुस्तकालयको खाँचो भएको कुरा महसुस गरी संस्था दर्ता ऐन २०३४ को अधिनमा रहि श्री प्रतिभा सामुदायिक पुस्तकालयको विधान तयार गरिएको हो ।
परिच्छेद १
        १. सङ्क्षिप्त नाम र प्रारम्भ :
क) यस विधानको नाम ‘श्री प्रतिभा सामुदायिक पुस्तकालयको विधान २०५७’ रहने छ ।
ख) यो विधान प्रचलित कानुन बमोजिम जिल्ला प्रशासन कार्यालय कैलालीबाट स्वीकृत भएका मितिदेखि लागु हुनेछ ।
         २. परिभाषा :
क) विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा ‘विधान’ भन्नाले ‘श्री प्रतिभा सामुदायिक पुस्तकालय अत्तरिया कैलालीको विधान २०५७’ भन्ने बुझिन्छ ।
ख) ‘सञ्चालक समिति’ भन्नाले यस विधान बमोजिम निर्वाचित कार्य समितिलाई जनाउँछ ।
        ३. संस्थाको चिन्ह र छाप :
यस संस्थाको चिन्ह र छाप यसै विधानको अनुसूचिमा १ मा उल्लेख गरे बमोजिम हुने छ ।
        ४. संस्थाको कार्यालय
यस संस्थाको कार्यालय गोदावरी नगरपालीका  वार्ड नं. १ अत्तरिया,कैलालीमा रहने छ ।
परिच्छेद २
      ५. संस्थाका उद्देश्यहरु
क) साहित्यिक क्षेत्रको विकासमा योगदान पुर्याउने ।
ख) लोप हुन लागेको नेपालका विभिन्न भाषा तथा भाषिकाको साहित्य र संस्कृतिको जगेर्ना गर्ने ।
ग) राजनीति, साहित्य, सङ्गीत, कला, धर्म, संस्कृति तथा ज्ञान, विज्ञान, दर्शनका विविध फाँटका पुस्तकहरु उपलब्ध गराउने ।
परिच्छेद ३
सदस्यता
       ६. यस पुस्तकालयको उद्देश्य प्राप्तिका लागि निम्नानुसारको सदस्यता कायम गरिएको छ :
क) आजीवन सदस्य
ख) संस्थापक सदस्य
ग) श्रेयस्कर सदस्य
घ) मानार्थ सदस्य
       ७. सदस्यता शुल्क र सदस्यता प्राप्त गर्ने विधि :
क) यस पुस्तकालयको आजीवन सदस्य बन्न चाहने १८ वर्ष उमेर पुगेको जोसुकै नेपाली नागरिकले रु.२,५००/–शुल्क तिरी आजीवन सदस्यता प्राप्त गर्न सक्ने छ ।
ख) ‘संस्थापक सदस्य’ भन्नाले पुस्तकालय स्थापनार्थ गठित तदर्थ समितिका सदस्यहरु भन्ने बुझिन्छ ।
ग) पुस्तकालयलाई एकमुष्ठ रु. २५,०००।– सम्म नगदी वा जिन्सी सम्पत्ति प्रदान गर्ने व्यक्तिलाई साधारण सभाको निर्णय अनुसार श्रेयस्कर सदस्यता प्रदा नगर्न सकिने छ ।
घ) पुस्तकालयलाई एकमुष्ठ रु. २५,०००।– भन्दा माथि नगदी वा जिन्सी सम्पत्ति प्रदान गरी पुस्तकालयको विकासमा उल्लेखनीय योगदान पुर्याउने कुनै पनि व्यक्तिलाई मानार्थ सदस्यता प्रदान गर्न सकिने छ ।
ङ) सञ्चालक समितिको निर्वाचनमा उमेदवार हुन र मतदान गर्न २१ वर्ष पूरा भएको नेपाली नागरिक हुनुपर्ने छ ।
च) सञ्चालक समितिको निर्वाचनमा अध्यक्ष पदको उमेदवार बन्न न्यूनतम एक कार्य अवधि कार्य समितिमा काम गरेको हुनुपर्ने र अन्य पदको उमेदवार बन्न सदस्यता अवधि कम्तिमा १ वर्ष पूरा भएको हुनुपर्ने छ ।
परिच्छेद ४
साधारण सभा
       ८. साधारण सभाको गठन :
क) प्रत्येक साधारण सदस्य, आजीवन सदस्य र संस्थापक सदस्यहरु भएको एक साधारण सभा गठन गरिने छ ।
ख) साधारण सभाको बैठक वर्षमा एक पटक बस्नेछ, जसको सूचना सञ्चालक समितिले कम्तिमा ७ दिन अघि लिखित रुपमा पठाउनु पर्ने छ ।
ग) साधारण सभाको गणपूरक सङ्ख्या ५१% हुनेछ । पहिलो पटक गणपूरक सङ्ख्या नपुगी बैठक स्थगित भएमा दोस्रो पटक २५% उपस्थित सङ्ख्यालाई नै गणपूरक सङ्ख्या मानी सभा सञ्चालन गरिने छ । तेस्रो पटक जतिसुकै सदस्य उपस्थित भए पनि साधारण सभा सञ्चालन हुने छ ।
घ) साधारण सभाका एक चौथाइ सदस्यले मनासिब कारण देखाई साधारण सभाको माग गरेमा कार्य समितिले विशेष साधारण सभा बोलाउनु पर्ने छ तर दुई वटा सभाको समयान्तर कम्तिमा ६ महिना हुनु पर्ने छ । यसरी बोलाइएको विशेष साधारण सभाको गणपूरक सङ्ख्या कम्तिमा दुई तिहाई हुनु पर्ने छ ।
         ९. साधारण सभाको काम, कर्तव्य र अधिकार :
साधारण सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुने छ :
क) निर्वाचन समयभित्र आफूमध्येबाट कार्य समितिको निर्वाचन गराउने ।
ख) वार्षिक कार्यतालिका, लेखा परीक्षणको प्रतिवेदन र बजेट अनुमोदन गर्ने ।
ग) पुस्तकालयको विषयमा आवश्यक छलफल गर्ने र निर्णय दिने ।
घ) विधान तथा कार्य सञ्चालनका नियम उपर संशोधन गर्ने ।
ङ) कुनै विषयमा विवाद उत्पन्न भएमा प्रजातान्त्रिकपद्धति अनुरुप समाधान गर्ने ।
        १०. सञ्चालक समितिको गठन :
क) पुस्तकालयको दैनिक कार्य सञ्चालनका लागि साधारण सभाबाट देहाय बमोजिमको कार्य समिति गोप्य मतदान प्रक्रियाबाट गठन गरिने छ ।
अध्यक्ष १ जना
उपाध्यक्ष १ जना
सचिव १ जना
सह सचिव १ जना
कोषाध्यक्ष १ जना
सदस्य ४ जना
कार्य समितिबाट मनोनित सदस्य २ जना

ख) सञ्चालक समितिको कार्यावधि ३ वर्षको हुने छ ।
ग) सञ्चालक समिति साधारण सभाप्रति उत्तरदायी हुने छ ।

११. बैठक प्रक्रिया :
क) सञ्चालक समितिको बैठक कम्तिमा ३ महिनाको एक पटक बस्ने छ ।
ख) बैठकको सूचना ३ दिन अगावै लिखित रुपमा दिनु पर्ने छ ।
ग) बैठकको गणपूरक सङ्ख्या ५१% हुने छ । दोस्रो पटक बोलाएको बैठकमा ३३ प्रतिशत सदस्यलाई गणपूरक सङ्ख्या मानिने छ ।
         १२. काम, कर्तव्य र अधिकार :
सञ्चालक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुने छ ।
क) साधारण सभामा वार्षिक विवरण, लेखा परीक्षणको प्रतिवेदन तथा बजेट पेश गर्ने ।
ख) साधारण सभाले पारित गरेका निर्णय र निर्देशनको पालना गर्ने ।
ग) सदस्यता वितरण र नवीकरण गर्ने ।
घ) चल अचल सम्पत्ति खरीद, बिक्री गर्ने, रेखदेख गर्ने र अभिलेख राख्ने ।
ङ) लेखा परीक्षक नियुक्त गरी लेखा परीक्षण गराउने ।
च) दैनिक कार्य सञ्चालन गर्न आवश्यक नीति नियम बनाउने ।
छ) पुस्तकालयको उद्देश्य परिपूर्ति गर्नका लागि विभिन्न सरकारी तथा गैह्र सरकारी संस्थाहरुसँग सम्पर्क गर्ने ।
        १३. सल्लाहकार समितिको गठन गर्न सकिने व्यवस्था :
पुस्तकालयलाई आवश्यक सल्लाह एवं सुझाव दिनका लागि र अन्य कार्यहरुमा समेत सहयोग गर्नका लागि सञ्चालक समितिले सल्लाहकार समिति गठन गर्न सक्ने छ । यस समितिको कार्यावधि, काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुने छ ।
         परिच्छेद ५
पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार
       १४. अध्यक्षको अधिकार र कर्तव्य :
क) बैठकको अध्यक्षता गर्ने ।
ख) कार्य समितिको बैठक तथा साधारण सभा बोलाउने ।
ग) पुस्तकालयको सम्पत्ति रेखदेख एवं नियन्त्रण गर्ने ।
घ) कार्य समितिको निर्णय लिई पुस्तकालयको लागि आवश्यक कर्मचारी नियुक्त गर्ने, निलम्बन गर्ने एवं बर्खास्त गर्ने ।
ङ) पुस्तकालयको हित हुने खालका रचनात्मक कार्य गर्ने ।
च) बैठकमा निर्णायक मत प्रदान गर्ने ।
छ) पदाधिकारी तथा सदस्यहरुमा कामको बाँडफाँड गर्ने ।
ज) कार्य समिति तथा साधारण सभाबाट पारित निर्णयहरु कार्यान्वयन गराउने ।
       १५. उपाध्यक्षको काम, कर्तव्य र अधिकार :
क) अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गरिआएको कामको जिम्मा लिने ।
ख) अध्यक्षबाट अधिकार प्रत्यायोजन भएका काम, कारवाही गर्ने गराउने ।
        १६. सचिवको काम, कर्तव्य र अधिकार :
क) अध्यक्षको निर्देशानुसार बैठक बोलाउने ।
ख) बैठकमा माइन्युटिङ्ग गर्ने अभिलेख राख्ने एवम् पत्राचार गर्ने ।
ग) साधारण सभाद्वारा पारित वार्षिक प्रतिवेदन, आय–व्यय विवरण तथा लेखा परीक्षणको प्रतिवेदन कार्य समितिको बैठकमा पेश गर्ने र कार्य समितिले गरेका कार्यहरु साधारण सभामा पेश गर्ने, गराउने ।
घ) अध्यक्षले तोकेका अन्य कार्यहरु गर्ने ।
      १७. सह सचिवको काम, कर्तव्य र अधिकार :
क) सचिवको अनुपस्थितिमा सचिवले गर्नु पर्ने कार्यहरु गर्ने ।
ख) अध्यक्षबाट निर्देशित तथा सचिवबाट अधिकार प्रत्यायोजन भएका कामको जिम्मा लिई गर्ने गराउने ।
       १८. कोषाध्यक्षको काम, कर्तव्य र अधिकार :
क) नगदी तथा जिन्सि सम्पत्तिको हिसाब किताब राख्ने ।
ख) अर्थ प्रशासन सम्बन्धी जिम्मा लिने ।
ग) वार्षिक बजेट तथा लेखा परीक्षणको प्रतिवेदन साधारण सभामा पेश गर्ने ।
घ) अध्यक्षले तोकेको अन्य कार्यहरु गर्ने गराउने ।
       १९. सदस्यहरुको काम, कर्तव्य र अधिकार :
क) बैठकमा भागलिई निर्णय गर्ने, काम गर्ने ।
ख) पुस्तकालयको हितको लागि सञ्चालित कार्यक्रममा सहयोग पु¥याउने ।
       परिच्छेद ६
आर्थिक व्यवस्था
      २०. पुस्तकालयक आम्दानीका स्रोतहरु देहाय बमोजिम हुनेछन् :
क) सदस्यता शुल्क र नवीकरण शुल्क
ख) दान, उपहार
ग) अन्य संस्थाहरुबाट प्राप्त हुने सहयोग
घ) संस्थाको चल अचल सम्पत्तिबाट प्राप्त हुने रकम
ङ) विविध
     २१. कोष :
विभिन्न शीर्षकहरुबाट प्राप्त भएको रकम अध्यक्ष, कोषाध्यक्ष र सचिवको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ । जसमा अध्यक्षको दस्तखत अनिवार्य हुने गरी नेपालको कुनै पनि बैंकमा खाता सञ्चालन गरिने छ ।
    २२. रकमान्तर :
साधारण सभाद्वारा स्वीकृत बजेटको शीर्षक रकमान्तर गर्नु परेमा का.स.को निर्णय अनुसार गर्नु पर्ने छ ।
     २३. लेखा परीक्षण :
आर्थिक वर्षको अन्त्यमा कार्य समितिले नेपाल सरकाद्वारा मान्यता प्राप्त लेखा परीक्षक नियुक्त गरी लेखा परीक्षण गराउनु पर्ने छ र लेखा परीक्षणको प्रतिवेदन एक प्रति जिल्ला प्रशासन कार्यालय कैलालीमा पठाउनु पर्ने छ ।
     परिच्छेद ७
विविध
    २४. निर्वाचन विधि :
क) कुनै पनि स्तरको निर्वाचनको लागि कार्य समितिले एक जना निर्वाचन अधिकृत नियुक्त गर्ने छ । निर्वाचनमा विवाद परेमा निर्वाचन अधिकृतको निर्णय अन्तिम निर्णय हुनेछ ।
ख) निर्वाचन गोप्य मतदान प्रक्रियाद्वारा गराइने छ ।
    २५. अविश्वास प्रस्ताव :
क) सञ्चालक समितिको कुनै पनि पदाधिकारीको कार्यमा असन्तुष्ट भई कार्य समितिको एक तिहाई सदस्य वा साधारण सभाको एक चौथाई सदस्यहरुबाट लिखित प्रस्ताव आएमा सो उपर कार्य समितिमा छलफल चलाइने छ ।
ख) अविश्वास प्रस्ताव पारित हुनको लागि कार्य समितिको दुई तिहाई बहुमत अथवा साधारण सभाको सामान्य बहुमत आवश्यक हुनेछ ।
ग) आरोपित सदस्यलाई सफाइको निमित्त लिखित सूचना सहित मौका दिइने छ ।
घ) अविश्वास प्रस्ताव पारित भएमा जसका विरुद्ध सो प्रस्ताव पारित भएको हो, सो आफ्नो पदबाट स्वतः हटेको मानिने छ ।
ङ) निर्वाचित भएको ६ महिना भित्र कुनै पनि व्यक्ति उपर अविश्वासको प्रस्ताव पेश गर्न पाइने छैन ।
       २६. निर्वाचनको लागि योग्यता :
देहायका व्यक्तिहरु निर्वाचनमा भाग लिन पाउने छैनन् :
क) निर्वाचन अधिकृत र पुस्तकालयका वैतनिक कर्मचारी निर्वाचनमा उमेदवार बन्न पाउने छैनन् ।
ख) पुस्तकालयका श्रेयस्कर र मानार्थ सदस्यहरु विदेशी नागरिक भएमा मतदानमा भाग लिन पाउने छैनन् ।
ग)  नाबालीग सदस्यहरु निर्वाचनमा भाग लिन पाउने छैनन् ।
घ) नेपाल सरकारको प्रचलित कानुन बमोजिम अयोग्य ठहरिने व्यक्तिहरु समेत निर्वाचनमा भाग लिन पाउने छैनन् ।
     २७. पदमुक्तता र पदपूर्ति :
क) अध्यक्षले सञ्चालक समिति समक्ष र अन्य सदस्यले अध्यक्ष समक्ष राजिनामा पेश गरी स्वीकृत भएमा ।
ख) पुस्तकालयलाई नोक्सानी पु¥याउने काममा संलग्न भएको प्रमाणित भई कार्य समितिको निर्णयद्वारा निश्कासित भएमा ।
ग) अविश्वासको प्रस्ताव पास भएमा ।
घ) मृत्यु भएमा वा मगज बिग्रेमा ।
ङ) सञ्चालक समितिको बैठकमा लगातार ३ पटकसम्म बिना जानकारी अनुपस्थित भएमा ।
च) अध्यक्षको पद रिक्त भएमा बाँकी कार्य अवधि उपाध्यक्षले का.बा. अध्यक्षको हैसियतले काम गर्ने छ ।
छ) अन्य पदको हकमा कार्य समितिले मनोनित गरी पदपूर्ति गर्नु पर्ने छ ।
ज) कारणवश कार्य समितिका बहुमत सदस्यहरुको पद रिक्त हुन गएमा विशेष साधारण सभाले पदपूर्ति गर्नेछ ।
     २८. विशेषाधिकार :
क) यस पुस्तकालयका कार्य समितिको पदावधि सकिएपछि कुनै पनि मुनासिब कारण परी तत्काल निर्वाचन हुन नसक्ने अवस्था परेमा अवधि सकिएको मिति देखि निर्वाचन नभएसम्मका लागि भइ रहेको का.स.लाई काम गर्ने विशेषाधिकार हुने छ तर यस्तो निर्णय उक्त अधिकार १ वर्ष पछि स्वत : निष्क्रिय हुनेछ ।
    २९. बर बुझारथ :
क) कुनै पनि पदाधिकारी आफ्नो पदबाट हटेको १५ दिन भित्र आफू जिम्मा रहेको नगदी जिन्सि बर बुझारथ गरिसक्नु पर्ने छ ।
    ३०. विघटन :
कुनै कारणले यो संस्था सञ्चालन हुन नसकी विघटन हुन गएमा यस संस्थाको सम्पूर्ण सम्पत्ति नेपाल सरकारको हुने छ ।
    ३१. निष्क्रियता :
यस विधानमा जे सुकै कुरा लेखिएको भए तापनि नेपालको प्रचलित ऐन कानुनसँग बाँझिएमा बाँझिएको हदसम्म निष्क्रिय ठहरिने छ ।

अनुसूची १
संस्थाको चिन्ह र छाप :


No comments:

Post a Comment